काठमाडौं । दोलखाको उत्तरी गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ । गौरीशंकर–६, चंखु स्थायी घर भएका उपाध्यक्ष तामाङको आइतबार दिउसो काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा निधन भएको हो ।
उपाध्यक्ष तामाङलाई एक्कासी पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि दुई दिनअघि भक्तपुरको मध्यपुर थिमि अस्पतालमा अस्पताल भर्ना भएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई मुटुमा समस्या देखिएको आशंकामा मध्यपुर थिमि अस्पतालले गंगालाल हृदयरोग केन्द्र बाँसबारी रिफर गरेको थियो । तामाङलाई शनिबारबाटै CCU कक्षमा राखेर उपचार गरिएको अस्पताल स्रोतले जनाएको छ । उनको स्वास्थ्यमा जटिल समस्या देखिएपछि आइतबार दिउँसो शल्यक्रिया गरिएको अस्पताल स्रोतले जनाएको छ ।
उपाध्यक्ष तमाङको निधन भएको खवरपछि गौरीशंकर गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासी तथा दोलखाका राजनितिक दलका नेता तथा कार्यकर्ताहरु गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पुगेका छन् । तामाङ गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित जनप्रतिनिधि हुन् ।
त्यसैगरी, नेपाली कांग्रेसको राजनितिमा लामो समयदेखि सक्रिय रहेका तामाङ कांग्रेस र माओवादीको गबन्धनबाट २०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट पालिका उपाध्यक्षमा निर्वाचित भएका थिए ।