काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आयल निगमले पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ, मट्टितेल, डिजेलमा ४ रुपैयाँ र एलपी ग्यासमा १० रुपैयाँ घटाएको छ ।
इन्धनको नयाँ मुल्य सुची भारतबाट घटेर आएको थियो । त्यस अनुसार आयल निगमका सञ्चालक समितिले इन्धनको मुल्य घटाउने निर्णय गरेको वाणिज्य सचिव मधुकुमार मरासिनीले जानकारी दिए । यस स्वचालित प्रणाली अनुसार आइतबार राति १२ बजेदेखि नयाँ मुल्य लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य घटाइएको हो । चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोल १६१ रुपैया ५० पैसामा कारोबार हुनेछ ।
हाल यहाँ पेट्रल १६७ रुपैयाँ ५० पैसा प्रतिलिटरमा कारोबार भइरहेको छ । यो क्षेत्रमा डिजेल र मट्टीतेल १४३ रुपैयाँ ५० पैसा तोकिएको छ । हाल डिजेल र मट्टीतेल १४७ रुपैयाँ ५० पैसाका कारोबार हुदै आएको छ ।
सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल १६३ रुपैयाँ, डिजेल र मट्टीतेल १४५ रुपैयाँमा कारोबार हुनेछ। हाल यस क्षेत्रमा पेट्रोल १६९ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टीतेल १४९ रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६४ रुपैयाँमा कारोबार हुनेछ । अहिले पेट्रोल १७० रुपैयाँ प्रतिलिटरमा कारोबार हुदै आएको छ । यस क्षेत्रमा डिजेल र मट्टीतेल प्रतिलिटर १४६ मा कारोबार हुनेछ । हाल यी क्षेत्रमा डिजेल र मट्टीतेल १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
एलपी ग्याँस भने प्रति सिलिण्डर १,८०० रुपैयाँबाट घटेर १,७९० रुपैयाँ हुनेछ । हवाई इन्धनको मूल्य भने सञ्चालक समितिले तोकेअनुसार लागू हुने आयल निगमले जनाएको छ ।