काठमाडौं । प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट)सङ्क्रान्ति पर्व आज मनाइदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा रहेकोछ ।
नेपाली समाजमा प्रत्येक वर्षको माघ १ गतेदेखि सुरु हुने उत्तरायण र साउन १ गतेदेखि सुरु हुने दक्षिणायनका दिनलाई विशेष पर्वको रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने प्रचलन रहेकोछ । एक महीना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा रहेकोछ। साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ ।
त्यसैगरी, महिलाहरुले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ । साउन महिनाभर देशभरका शिवालय र विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार मानिने भएकाले शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिनामा महिलाहरुले शिवको आराध्य गरी वर्ता बस्ने चलन रहेको छ ।