गौरीशंकर गाउँपालिका उपाध्यक्ष तामाङको अन्त्यष्टि, पालिकाभर मंगलबार शोक विदा

  किशोर कुमार गुरुङ  486 पटक हेरिएको

काठमाडौं । गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको मंगलबार बौद्ध धर्म पराम्परानुसार काठमाडौंमा अन्त्यष्टि गरिएको छ । स्वर्गीय तामाङको शवलाई काठमाडौंको जोरपाटीस्थित जम्बुडाँडामा अन्त्यष्टि गरिएको हो ।

नेपाली कांग्रेस गौरीशंकर गाउँपालिका सभापति समेत रहेका तामाङलाई पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि भक्तपुरको मध्यपुर थिमी अस्पतालमा भर्ना भएका थिए । त्यसपछि तामाङलाई मुटुमा समस्या देखिएपछि काठमाण्डौस्थित सहिद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा रिफर गरिएको थियो । उनको आइतबार दिउँसो उपचारकै क्रममा  सहिद गङ्गालाल हृदयरोग केन्द्रमा निधन भएको हो ।

स्वर्गीय तामाङको पार्थिव शरीरमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र सह महामन्त्री भिष्मराज आङदम्वेले कांग्रेसको झण्डा ओढाएर अन्तिम बिदाई गर्नुभएको थियो । नेपाल तामाङ घेदुङ संघ केन्द्रीय समितिले पनि झण्डा ओढाएर स्वर्गीय तामाङलाई श्रद्धाञ्जली दिएका थिए । उपाध्यक्ष तामाङको अन्त्यष्टिकालागि नेकपा एमाले पोलिट्व्यूरो सदस्य एवं पूर्वमन्त्री पार्वत गुरुङ, दोलखाका संघीय सांसद गंगा कार्की, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक एवं दोलखा प्रदेश क का प्रदेश सदस्य कुन्दनराज काफ्ले, गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा लगायतका नेता, कार्यकर्ता एवं शुभचिन्तकहरु जम्बुडाँडा पुगेर श्रद्धाञ्जली दिएका थिए ।

त्यसैगरी, उपाध्यक्ष तामाङको निधनपछि गौरीशंकर गाउँपालिकामा मंगलबार शोक विदा दिईएको छ । गाउँपालिकाले उपाध्यक्षको निधनमा मंगलबार पालिका कार्यालय, वडा कार्यालयहरु तथा पालिकाभित्रका सरकारी, गैर सरकारी कार्यालय र शिक्षण संस्थाहरु बन्द रहेका पालिका अध्यक्ष विश्वास कार्कीले बताउनु भयो । गौरीशंकर गाउँपालिका ६, चंखु स्थायी निवासी स्वर्गीय तामाङ नेपाली कांग्रेसबाट २०७९ को स्थानीय निर्वाचनबाट पालिका उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार