काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजकीय भ्रमणमा इटाली प्रस्थान गर्नु भएका छन् । यहि साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार इटालीतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री दाहाललाई बिदाइ गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव डा।वैकुण्ठ अर्याल लगायत नेताहरू विमानस्थल पुग्नुभएका थिए । प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा। बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा छोरी गङ्गा दाहाल पनि सो भ्रमणमा सहभागी रहेका छिन् ।
प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुने कार्यसूची रहेको छ। साथै सोही एजेन्डा रहेको छुट्टै सत्रलाई तथा मङ्गलबार भने खाद्य प्रणाली परिवर्तनको एजेन्डाको सत्रमा पनि अध्यक्ष राष्ट्रको हैसियतमा प्रधानमन्त्रीले सम्बोधन गर्नु हुने कार्यसुची रहेको प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ ।