काठमाडौं । बुढानिलकण्ठमा संयुक्त राष्ट्र संघको अन्तराष्ट्रिय खाद्य सुरक्षा कार्यक्रमको नक्कली कार्यालय खडा गरि ठगी गर्ने सिन्धुपाल्चोकका एक सहित दुई जना पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका–५ मा दुई तले पक्की भवन भाडामा लिएर कार्यालय खोली ठगी गर्ने सिन्धुपाल्चोकका घनश्याम कटवाल र मकवानपुरका लीलाबहादुर घलानलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंका प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले डब्लुएफपीको नक्कली कार्यालय खोलेर ठगी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । एसएसपी कार्कीका अनुसार संलग्न मकवानपुरका भीम भोलन, मिलन तमाङ र पेम्बा तमाङ भने फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट राष्ट्रिय झण्डा, डब्लुएफपीको लेटरप्याड, छाप लगायत अन्य सामाग्री बरामद गरेको छ । उनीहरुले गत जेठ देखि डब्लुएफपीको नक्कली कार्यालय खडा गरेको पाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, सिन्धुपाल्चोकका घनश्याम कटवालले नाम परिवर्तन गरी जयराम केसी राखेर आफैंले आफैंलाई उपसचिव घोषणा गर्दै कार्यालयमा प्रमुखको रुपमा बसेको प्रहरी अनुसनधानबाट खुलेको एसएसपी कार्कीले बताउनुभयो । डब्लुएफपीको नाममा विभिन्न सामाग्रीका लागि पत्रिकामार्फत टेन्डर आह्वान गरिएको सुचना छपाईएको र बोलपत्र खुलाएर व्यापारीबाट सामान लिइसकेपछि रकम नतिरेपछि पीडीतहरु प्रहरीकोमा पुगेका थिए । त्यसपछि प्रहरीले छानविन सुरु गर्दा कार्यालय नै नक्कली भएको पाइएको छ ।