काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले शेयर अभौतिकिकरण अर्थात् शेयर डिम्याट नगराएका शेयरधनीलाई डिम्याट गराउन आग्रह गरेको छ । कम्पनीले कर्मचारी संचयकोषका संचयकर्ता, ऋण लगानी गर्ने संस्थाका कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई आफ्नो शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको हो ।
कम्पनीले शेयर रजिष्ट्रारमा सनराईज क्यापिटल लिमिटेडलाई आधिकारिक रुपमा नियुक्त गरी हकप्रद शेयर निस्काशनका लागि तयारी गरेको छ । आयोजनाले प्राथमिक शेयर हालेको तर डिम्याट गर्न छुटेका शेयरधनीलाई यथाशीघ्र आफ्नो हितग्राही खातामा अभौतिकीकरण अर्थात डिम्याट गर्न आग्रह गरेको हुन् ।
त्यसैगरी, कम्पनीले १:१ का दरले हकप्रद निष्काशन गर्न लागेकोले आवेदन दिन डिम्याट खाता खोली शेयर अभौतिकीकरण अनिवार्य रहेको कम्पनीले प्रष्ट पारेको छ । कम्पनीले डिम्याट खाता नभएका शेयरधनीहरुलाई समेत समयमै डिमयात खाता खोलि आफनो नामको शेयर अभौतिकिकरण अर्थात डिम्याट गर्नका लागि अनुरोध गरेको छ ।
माथिल्लो तामाकोशीले हकप्रद शेयर निस्काशन गरी २२ मेघावटको रोल्वालिङ हाइड्रो निर्माण गर्ने तयारी गरेको छ । रोल्वालिङ हाइड्रोको पानी माथिल्लो तामाकोशी आयोजनामा हालेपछि मात्र ४५६ मेघावट विद्युत उत्पादनमा पुर्ण क्षमता हुनेछ ।