दोलखा । नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल दोलखाको जिल्ला कमिटी सचिवालय बैठक सम्पन्न भएको छ । नेकपा एमाले दोलखाको जिल्ला पार्टी कार्यालय चरिकोटमा युवा संघको सचिवालय बैठक सम्पन्न भएको हो ।
जिल्ला अध्यक्ष भुवन गुरुङको अध्यक्षता र राष्ट्रिय युवा संघ नेपालकी केन्द्रिय उपाध्यक्ष सिता सुवेदीको प्रमुख आतिथ्यता र केन्द्रिय उपाध्यक्ष महाराज गुरुङको विशेष अतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकमा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, जिल्ला सह इन्चार्ज धिरज सुवेदी, युवा संघ बागमती प्रदेशका सचिव राजु तिवारी र जिल्ला कमिटीका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
जिल्लामा बैठकले सदस्यता बितरण आगामी भदौ महिना भित्र पाँच हजार नयाँ सदस्य थप गरिने निर्णय गरिएको छ । साउन अन्तिमसम्म जिल्लाको ७४ वडाको अधिबेशन, दुइ नगर र सात वटै पालिकाको भदौ १२ गतेसम्म अधिबेशन सम्पन्न गरी आगामी भदौ २२ र २३ गते सदरमुकाम चरिकोटमा युवा संघको जिल्ला अधिबेशन गर्ने निर्णय गरेको अध्यक्ष भुवन गुरुङले जानकारी दिनु भयो ।
बैठकमा नेकपा एमालेका भातृसंगठन युवा संघ पार्टीको मेरुदण्ड भएको हुनाले आम नागरिकहरुको हितमा काम गर्न पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठले निर्देशन दिनु भयो । अध्यक्ष श्रेष्ठका अनुसार पार्टीप्रति नागरिकको सकरात्मक भुमिका र आस्थाको धरोहर बन्न युवा संघलाई आग्रह गर्नुभयो ।
त्यसैगरी, शनिबार युवा संघको नवौं केन्द्रिय राष्ट्रिय महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष र सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै बैठक समापन गरियो ।