मार्बुको पहिरोमा परी घाइतेको काठमाडौंमा उपचार हुदै, बेपत्ताको खोजी जारी

  किशोर कुमार गुरुङ  250 पटक हेरिएको

दोलखा । गौरीशंकर गाउँपालिका–७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएर बेपत्ता भएका चार मध्ये दुई जनाको शव फेला परेको छ । विहिबार बेलुका अविरल वर्षासँगै आएको पहिरोमा परी बेपक्ता भएकाहरु मध्ये बालक र एक जना महिलाको शव फेला परेको हो ।

आज विहान १५ महिने बालक प्रिन्स थामीलाई घर नजिकै दबदबे हिलोमा मृत अवस्थामा फेला पारिएको र दिउँसो घटनास्थल नजिकै एक महिलाको शव फेला परेको हो । टोपाटारका पहिरोमा अझै कृष्ण मगर, उनीकी श्रीमती देव मगर र स्थानीय हरिलाल श्रेष्ठ बेपत्ता छन् । पहिरोमा परी तीन जना गम्भीर घाईते भएका छन् ।

पहिरोमा परी यज्ञवहादुर थामी, उनकी श्रीमती धनमाया थामी र २२ बर्षिया बुहारी सिता थामी घाइते भएका छन् । उनीहरुको शरीरका बिभिन्न भागमा चोट लागेको छ । गम्भीर घाईते यज्ञवहादुर र धनमायालाई हेलिकोप्टर मार्फत उद्धार गरी थप उपचारकालागि काठमाडौं लगिएको छ । उनीहरुको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भईरहेको छ । अर्की घाईते सिता थामीको सिंगटी अस्पतालमा उपचार भईरहेको छ ।

दोलखाको उत्तरी गौरीशंकर गाउँपालिका ७ मार्बुको टोपाटार बस्तीमा विहीबार बेलुका खारेको सल्ले भिरबाट पहिरोले खोला थुनेर बस्ती बगाउदा ठुलो जनधनको क्षति भएको हो । पहिरोले बस्तीका ७ घर पुरेको मार्बुका वडाअध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । सुरक्षाकर्मी र स्थानीयले बेपत्ताको खोजी कार्य जारी राखेको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।

अविरल वर्षा र मौसम प्रतिकुलताका कारण टेलिफोन सम्पर्क समेत विच्छेद भएकाले घट्ना बेलुकी नै भएपनि ढिलोगरी जानकारी प्राप्त भएको थियो । घटनास्थल सदरमुकाम चरिकोटबाट करिव ६० किलोमिटर उत्तरमा पर्छ । पहिरोका कारणले सडक बाटो पुर्णरुपमा अवरुद्ध भएका छन् ।

त्यसैगरी, पहिरोका कारण आधा दर्जन घरपरिवार बिस्थापित भएका छन् । पहिरोमा पुरिएर बेपत्ता भएका कृष्णवहादुर मगरको घरमा रहेका ३ वटा गाई र १४ वटा बाख्रा पनि मरेका छन् । सो पहिरोले गौरीशंकर ७ र ८ जोड्ने पक्की झोलुङ्गे पुल समेत बगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार