काठमाडौं । गौरीशंकर गाउँपालिका ७, मार्बु टोपाटारको पहिरोबाट घाइतेलाई उपचारका लागि नेपाली कांग्रेसद्धारा एक लाख २३ हजार बराबरको सहयोग हस्तान्तरण गरेको छ । नेपाली कांग्रेस दोलखा र काठमाडौं सम्पर्क समितिको अगुवाइमा पहिरोबाट घाइते तीन जनालाई उपचार ब्यवस्थापनमा सहजीकरण गर्न सहयोग संकलन गरी हस्तान्तरण गरेका हुन् ।
पहिरोबाट घाइते भएका सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारत विरामीलाई दुई दिनसम्म उपचार गर्न लागेको खर्च २४ हजार, औषधी बापत छ हजार गरी ३० हजार छुट र ९३ हजार ७० रुपैया नगद हस्तान्तरण गरेको जिल्ला सभापति बर्मा लामाले बताउनु भयो । सभापति लामाका अनुसार संकलित रकम विरामीका छोरालाई हस्तान्तरण गरेको बताए । सिनामंगलमा उपचारत विरामीलाई डिस्चार्ज गरी यज्ञबहादुर थामी र उनकी श्रीमति धनकुमारी थामीलाई राष्ट्रिय ट्रमा सेन्टर र बुहारी सरिता थामीलाई महाराजगन्जस्थित टिचिङ्ग हस्पिटलमा भर्ना गरिएको सभापति लामाले जानकारी दिए ।
सो पहिरोबाट घाइते हुने तीनै जना एकै परिवारका सदस्य हुन् । शनिवार घाइतेलाई भेट्न र सहयोग हस्तान्तरण गर्न केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी, पूर्वपार्टी सभापति ताराबहादुर कोईराला, पार्टी सभापति बर्मा लामा लगायत दोलखाका नेताहरु सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुगेका थिए ।
गत बिहीबार परेको अविरल वर्षाको कारणले पहिरोले बस्ती बगाउदा ३ जना घाइते भएका थिए । सो पहिरोबाट बेपत्ता भएका चार मध्ये बालक र एक जना महिलाको शव भेटिएको छ । बिहिबार बेलुका आएको पहिरोले आधा दर्जन घरपरिवार बिस्थापित भैइ ठुलो धनजनको क्षति भएका छन् ।
त्यसैगरी, पहिरोमा पुरिएर ३ वटा गाई, १४ वटा बाख्रा र कुखुराहरु समेत मरेका छन् । पहिरोमा अझै दुई जना बेपत्ता भएकाले खोजि कार्य जारी रहेको इलाका प्रहरी कार्यलय सिंगटीले जनाएको छ । सो पहिरोले गौरीशंकर ७ र ८ जोड्ने पक्की झोलुङ्गे पुल समेत बगाएको छ ।