दोलखा । कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र कुविन्डेमा तोकिएपछि असन्तुष्ट वडाअध्यक्षले कार्यालयमा तोडफोड गरेका छन् । कालिञ्चोक गाउँपालिका–५ लापिलाङका वडाअध्यक्ष सहदेव खड्काले मंगलबार मध्यान्ह गाउँपालिका कार्यालय पुगी तोडफोड गरेका हुन् ।
सोमबार बसेको गाउँसभामा अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले प्रस्ताव गर्नुभएको दोलखा–सिँगटी सडक खण्डमा पर्ने वडा नम्बर ४ को कुभिन्डेमा दुई तिहाई मतका साथ स्थायी केन्द्र पारित भएको थियो । त्यस विषयलाई लिएर मंगलबार दिउँसो वडाअध्यक्ष खड्काले प्रशासकीय अधिकृत नवराज ओलीको कार्यकक्षमा प्रवेश गरी कार्यलय तोडफोड गरेका हुन् ।
वडाध्यक्ष खड्काले प्रशासकीय अधिकृत ओलीको कार्यकक्षमा पुगेर कुर्चि, सोफा, कम्युटर लगायतका सामान फालेको गाउँपालिकाकी शाखा अधिकृत रोशनी आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार प्रशासकीय अधिकृत खोज्दै भन्दै कार्यालयमा प्रवेश गरेर तोडफोड गरी हिँडेका वताए । पालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले पनि वडाध्यक्ष खड्काले कार्यकारी अधिकृतको कार्यकक्षमा तोडफोड गरेको बताउनुभयो । गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ४ को कुविन्डेमा तोकिएपछि वडाध्यक्ष खड्का असन्तुष्ट बनेका थिए ।
त्यसैगरी, गाउँसभामा केन्द्रको प्रस्तावका पक्षमा ३२ र विपक्षमा ९ मत परेको थियो । सोमबार भएको मतदानमा खड्कासहित वडा नम्बर ५ का चार जना वडासदस्य तटस्थ बसेका थिए । पालिकाको स्थायी केन्द्र अपायक भएको भन्दै असन्तुष्ट खड्काले प्रशासकीय अधिकृत ओलीको कार्यकक्षमा तोडफोड गरेको बताइएको छ । प्रशासकीय अधिकृत कार्यकक्षमा नभएका बेला उनको कार्यकक्ष तोडफोड गरेका थिए ।