गौरीशंकरको सुरीमा अहिंसावादी ३८ दिने बौद्धिक तपस्या समापन

  किशोर कुमार गुरुङ  379 पटक हेरिएको

दोलखा । गौरीशंकर गाउँपालिका ५, सुरीमा अहिंसावादी बौद्धधर्म विश्वशान्ति चक्र संघको ३८ दिने लामो बौद्धिक तपस्या सम्पन्न भएको छ । नेपाल अहिंसाबादी बौद्ध धर्म विश्व शान्ति चक्र संघका इकाई समिति तिनेखुको आयोजनामा बौद्धिक तपस्या बुधबार सम्पन्न भएको हो ।

गत साउन ७ गतेदेखि सुरीको तिनेखु च्यानडाँडामा आरम्भ भएको तपस्या (डुबखाङ/गुफा) परापूर्वकालदेखि अहिलेसम्म कुनै लामा र धर्मगुरु तथा साँधुसन्तले बस्न नसकेको आयोजकले बताए । सुरीको तिनेखु निवासी लामा पुर्णबहादुर तामाङ र धर्मगुरु रिग्पा दोर्जे लामाले नौ जना प्रशिक्षार्थीलाई ३८ दिनसम्म बौद्ध धर्मानुसार कठोर वौद्धिक प्रशिक्षण दिनुभएको थियो । तपस्यका क्रममा कुनै जिव जनावर तथा मानिसको अनुहारनै नहेर्ने, खोलानाला नतर्ने, नहेर्ने, चौविस घण्टामा एक छाक मात्र नुन, प्याज, लसुनरहितको सादा र शुद्ध खाना तथा फलफल मात्र खाई सिद्धिप्राप्त गर्न तपस्या बसेको प्रशिक्षक धर्मगुरुले जानकारी दिए ।

तपस्या भदौ १३ गते ३८औ दिनमा सुरीको तिनेखु इकाइ (डुबखाङ) गुफा ब्यावस्थापन समितिको अध्यक्ष मैताबहादुर तामाङको अध्यक्षता र गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीको प्रमुख अतिथ्यतामा तपस्या कार्यक्रम समपन्न भयो । तपस्या समापनको औपचारिक कार्यक्रममा पूर्वपालिका अध्यक्ष सोयमबहादुर खड्का, बौद्ध धर्मगुरु रिग्पा दोर्जे लामा, ल्होप्सुम धोसुम सोनाम दोर्जे लामा, जनप्रतिनीधिहरु ४ र ५ का वडाध्यक्षद्धय शिवहरी खत्री र सुन्दर खड्का, अहिंसावादी बौद्धधर्म संघका केन्द्रीय सदस्य दावा दोर्जे लामा लगायत स्थानीय बुद्धिजीवि र सर्वसाधरणहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा चक्रे तामाङले सहभागीहरुलाई स्वागत मन्तव्य दिइनुका साथै रामकृष्ण लो तामाङले सञ्चालन गर्नुभएको थियो ।

समापन कार्यक्रममा धर्मगुरु रिग्पा दोर्जे लामाले तपस्यास्थल पवित्र भुमि भएकाले तपोभुमिमा स्थापित गर्नुपर्ने धारणा राख्नुभयो । यस पवित्रभुमिमा तपस्यस्थाल एवं् साधना केन्द्र निर्माणका लागि स्थानीय सरकारले सहयोग गर्ने पालिका अध्यक्ष विश्वास कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो । धार्मिक तथा साँस्कृतिक सम्पदा सबैको साझा भएको हुदाँ वडाले आवश्यकतानुसार सहजीकरण गर्ने वडाध्यक्ष सुन्दर खड्काले बताउनुभयो । मन्तव्यका क्रममा धार्मिक, साँस्कृतिक र सामाजिक विकासमा वडा र पालिका मिलेर निश्पक्ष सहयोग गर्न पालिका पुर्वअध्यक्ष सोयमबहादुर खड्काले बताउनुभयो । पूर्वअध्यक्ष खड्काले एक महिनाभन्दा बढि तपस्यामा बसी प्राप्त गरेको बौद्धिक ज्ञानलाई समाजमा शान्ति, सहिष्णुता र अहिंसा कायम गरी सहयोग पुर्याउन लामा प्रशिक्षार्थीहरुलाई आग्रहसमेत गर्नुभयो ।

त्यसैगरी, गुफा एवं् तपस्या कार्यक्रमलाई सुरुदेखि अन्तिमसम्म सहयोग गर्नुहुने धर्मगुरु लगायत स्थानीय सहयोगीलाई संयोजक चक्रबिर तामाङले धन्यवाद दिनुभयो । संयोजक तामाङले ३८ दिनसम्मको लामो वौद्धिक ज्ञानको तपस्या हालसम्मकै पहिलो भएको हुदाँ प्राप्त ज्ञानलाई आत्मासाँक्षी राखी सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा सहयोगीलाई सम्मान, प्रशिक्षार्थी र अतिथिलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरेको सञ्चालक रामकृष्ण लो तामाङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार