काठमाडौं । चीनसँगको उत्तरी तातोपानी नाका आजदेखि खुल्ला भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले मानव आवतजावत गर्ने निर्णय गरेसँगै नाका खुल्ला गरेको हो ।
२०७२ सालको भूकम्प र त्यसपछिको कोरोना भाइरस महामारीका कारण तातोपानी नाका पूर्णरुपमा बन्द भएको थियो । शुक्रबार ९आज०देखि सो नाका सञ्चालनमा ल्याउन समझदारी भएको महावाणिज्यदूत नवराज ढकालले जानकारी दिनुभयो। समझदारीमा नाकाबाट यात्रुहरुको आवतजावत खुला गर्ने भनिए पनि तत्कालका लागि भने स्थानीयका लागि मात्रै नाका खुल्ने भएको छ ।
तातोपानीको पारिपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानीस्थित अध्यगमन कार्यालयले पास वितरण गरेको छ । अध्यागमनले जारी गरेको एकवर्षे अवधिको पास पाएकाहरुले शुक्रबारदेखि चीनतर्फ प्रवेश पाउने कार्यालयले जनाएको छ ।
तातोपानी भन्सार कार्यालयका अनुसार चीनतर्फ प्रवेशका लागि शुक्रबारदेखि नाका खुल्ला भएको जानकारी दिएको छ । चिनियाँ बजारसम्म पुग्नेगरी पास जारी भइरहेको छ,’ भन्सार प्रमुख दयानन्द केसीले भन्नुभयो, ‘२०७२ सालको भूकम्पछि पहिलो पटक मानव आवतजावतका लागि यो नाका खुल्ला भएको हो ।’
२०७२ सालको महाभूकम्प पछि बन्द भएको नाकाबात दुवै देशले भूकम्पलबाट क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो । तर, कोरोनाभाइरस महामारी विश्वभर फैलिएपछि ११ चैत २०७६ मा नाका पुनः बन्द भएको थियो । कोभिड–१९ पछि नाका खुल्ने र बन्द हुने पटक–पटक भएपनि यात्रु आवतजावतका लागि नाका सञ्चालनमा आएको थिएन ।