काठमाडौं । पेप्सीकोलामा भएको सवारी दुर्घटनामा परी दोलखाको एकसहित दुई जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान दोलखाकी उषा थापा र सर्लाही घर भई काठमाडौं बस्दै आएका राज भट्टराईको मृत्यु भएको हो ।
काठमाडौं महानगरपालिका-३२, पेप्सीकोलामा आइतबार विहान भएको दुर्घटनामा १२ घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुङ्गेलले जानकारी दिए । जडिबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा ३ ख ४८४८ नम्बरको बसले विपरीतबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरोलाई ठक्कर दिएको थियो ।
दुईवटा गाडी आपसमा ठोक्किँदा बागमती प्रदेश ०२–०३७प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको थियो । दुर्घटनामा दोलखा भिमेश्वर नगरपालिका-१ घर भई ललितपुरको इमाडोल बस्ने ५२ वर्षीय कुमार बहादुर खाती, उदयपुर त्रियुगा नगरपालिका-१० घर भई हाल काँडाघारी बस्ने २२ वर्षीय कल्पना विक, मकवानपुर हेटौडा घर भई हाल पेप्सिकोला बस्ने १७ वर्षीया रमिता प्रजा र स्कुटर चालक काभे कोशीपारी घर भई हाल मुलपानि बस्ने २९ वर्षीया सरस्वती खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै रामेछाप मन्थली नगरपालिका घर भई हाल बौद्ध बस्ने २० वर्षीय सुनिल मगराती, रामेछाप मन्थली नगरपालिका घर भई हाल बौद्ध बस्ने २० वर्षीय सुनिल मगराती, २१ वर्षीय राजकुमार मगराती, सिन्धुपालचोक बाह्रबिसे नगरपालिका(४ घर भई हाल थली बस्ने २३ वर्षीय सुवास बस्नेत घाइते छन् । उनीहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै मोरङ उर्लाबारी नगरपालिका-४ घर भई हाल गोंगबु बस्ने ३३ वर्षीय पुन्यप्रसाद गौतम, ओखल्ढुङगा लिखु गाउँपालिका-७ घर भई हाल बौद्ध २५ वर्षीय रमेश थापा, रामेछापको मन्थली नगरपालिका-८ घर भई हाल बौद्ध बस्ने वर्ष २२ को अर्जुन रम्तेल घाइते छन् । उनीहरूलाई पनि उपचारका लागि सिभिल अस्पताल लगिएको प्रबक्ता ढुंगेलले बताए ।
त्यसैगरी, बसका चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।