काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीले सर्वसाधरणका लागि शतप्रतिशत हकप्रद सेयर खुलाएको छ । आज सोमबारबाट कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर जारी गरेको हो ।
जसअनुसार अप्परले १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको छ । यस हकप्रद सेयरका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरेको थियो ।
तसर्थ, साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरका लागि दाबी गर्न पाउनेछन् । कम्पनीले आगामी असोज ७ गते हकप्रद बिक्री बन्द हुने सूचनामा उल्लेख गरेको छ ।
यो हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन् । यसमा धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
स्थानीय दोलखाबासीले सेयर अभौतिकीकरण नगरेको खण्डमा तोकिएको वित्तिय संघसंस्थामा गैई हकप्रद दाबीका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीको हाल चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
त्यसैगरी, अप्परले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयर मार्फत रकम संकलन गर्न लागेको हो । सरकारले २२ मेघावट रोल्वालिङ खोला हाइड्रो निर्माणको लागि लगानी स्विकृत गरिसकेको छ ।