एमाले दोलखाको जिल्ला अधिवेशन माघमा, १८३ सदस्यीय आयोजक कमिटी गठन

  गाैरीशंकर टाइम्स संवाददाता  139 पटक हेरिएको


दोलखा । नेकपा एमाले जिल्ला कमिटी दोलखाको दशौं अधिवेशन आगामी माघमा गरिने निर्णय गरेको छ । जिल्ला कमिटी दोलखाको १३औं बैठकले आगामी माघभित्र अधिबेशन गरिने निर्णय गरेको हो ।

सदरमुकाम चरिकोटस्थित पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै जिल्ला कमिटीका अध्यक्ष नरबहादुर श्रेष्ठले बैठकको निर्णय जानकारी गराउनु भयो । बैठकले पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठको संयोजक र उपाध्यक्ष राजेन्द्र मानन्धर सहसंयोजक रहने गरी १ सय ८३ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी समेत गठन गरेको छ ।

यसअघिको १२१ सदस्यीय जिल्ला कमिटी विघटन गर्दै बैठकले १०औं जिल्ला अधिवेशनका लागि नयाँ आयोजक कमिटी गठन गरेको हो । नेकपा एमाले केन्द्रिय कमिटीका बैठकले पार्टीलाई सक्रिय बनाउनका लागि देशभरका पार्टी कमिटीको अधिवेशन गर्ने निर्णय गरेको थियो । सोही अनुसार जिल्ला कमिटी दोलखाले पनि अधिवेशनको तयारी गरेको हो । अधिवेशन भव्य रुपमा सम्पन्न गर्न ९औं जिल्ला अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई समावेश गरी आयोजक कमिटी गठन गरेको अध्यक्षले जानकारी दिनुभयो ।

त्यसैगरी, जिल्ला कमिटी बैठकले आगामी असोज ८ र ९ गते काठमाडौंमा हुने बागमती प्रदेश कमिटीको अधिवेशनका लागि प्रतिनिधि छनौट गर्न निर्वाचन तालिका पनि सार्वजनिक गरेको छ । बैठकले भदौ २५, २६ र २७ गते तीन दिन प्रतिनीधि छनौट निर्वाचनको कार्यतालिका तोकिएको छ । प्रतिनिधि छनौटका लागि सबै पालिकाहरुमा निर्वाचन क्षेत्र तोकी प्रशिक्षण दिएर तीन सदस्यीय निर्वाचन टोली खटाईने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार