काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस २०८० मनाइँदै छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन् ।
आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुनेछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो । आजको दिनबाट संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।
नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा स्वर्गीय सुभासचन्द्र नेम्वाङ संविधानसभाको अध्यक्ष हुनुहुन्थ्यो ।
त्यसैगरी, देशमा संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लगायतका नयाँ व्यवस्था राखिएको नयाँ संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी भएका दलका पाँच सय ३७ जना सभासद्ले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।