काठमाडौं । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू १७ बुँदे मागसहित विद्यालय बन्द गरेर आन्दोलित बनेका छन् । संसद्मा पेश गरिएको ‘विद्यालय शिक्षासम्बन्धी विधेयक २०८०´ प्रति असन्तुष्टि जनाउँदै शिक्षकहरू आन्दोलित भएका हुन् ।
संविधान प्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउन खोजेको, पटक(पटकको संवाद र छलफलपछि पनि आफूहरूको मागविपरीत विधेयक आएको भन्दै नेपाल शिक्षक महासंघले शिक्षकहरूलाई आन्दोलनमा उतारेको हो ।
बुधवार सार्वजनिक बिदा परे पनि शिक्षकहरू काठमाडौंतर्फ आन्दोलन गर्न लागेपछि देशैभर मंगलवारदेखि नै पठनपाठन प्रभावित भएको थियो । बिहीवार पनि पढाइ ठप्प हुने देखिएको छ ।
विधेयकले स्थायी, अस्थायी र करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयलगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मूलभूत मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको महासंघले विश्लेषण गरेकोछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असन्तुष्ट शिक्षकहरूलाई वार्तामा बोलाएको थियो । मन्त्रालयका सहसचिव भगवान अर्यालले असोज १ गते विज्ञप्ति नै जारी गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको संयोजकत्वमा वार्ता गर्न असोज २ गतेका लागि मन्त्रालयमा बोलाएका थिए । तर शिक्षकहरु वार्ताप्रति बेवास्ता गर्दै आन्दोलनमा उत्रिएका हुन् ।