चरिकोट, दोलखा । संविधान दिवसमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) दोलखाले चार दिने ‘खोज पत्रकारिता तथा मल्टिमिडिया तालिम’ आयोजना गरेको छ । फोनिज दोलखाले विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको क्षमताअभिवृद्धि र प्रविधिमैत्री सीप प्रदान गर्नको लागि तालिम आयोजना गरिएको हो ।
तालिम उद्घाटन फोनिज दोलखाका अध्यक्ष अर्जुन पाख्रीनको अध्यक्षता र मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकरको प्रमुख आतिथ्यतामा भएको थियो । तालिममा दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, प्रेस काउन्सीलका नेपालका सदस्य चिरिन्जीवि मास्के, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठको सहभागिता रहेको थियो ।
त्यस्तै मेलुङ गाउँपालिकाका प्रवक्ता नवराज खड्का, पत्रकार महासंघ दोलखाका सचिव दिल बहादुर केसी, फोनिज दोलखाका पूर्वअध्यक्ष जीवन लामा, प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतको उपस्थिति थियो । तालिम मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरले उद्घाटन गरेका हुन् ।
तालिम उद्घाटन गर्दै अध्यक्ष थोकरले अबको पत्रकारिता खोजमुलक हुनु पर्नेमा जोड दिए । सूचना मात्रै लिने प्रशारण तथा प्रकाशन गर्ने विषयले खास पत्रकारिता हुन नसक्ने भन्दै अध्यक्ष थोकरले खोज मुलक पत्रकारिता अहिलेको आवश्यकता भएको औल्याए ।
प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले अबको पत्रकारिता हरेक विषयमा खोलमुलक हुनु पर्ने धारणा राखेका थिए । दोलखाको हाइड्रो, सहरकारी, बैंक, पर्यटन, प्राकृतिक स्रोत साधनको दोहन जस्ता विषयलाई तथ्यगत रुपमा पत्रकारले उठाउनु पर्ने धमलाको भनाई थियो ।
तालिम उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रीजन घिमिरे, सचिव दिल बहादुर केसी, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतले लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
चार दिने तालिममा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संघीय उपाध्यक्ष अमरध्वज लामा, कान्तिपुर ग्रुपका उप सम्पादक केदार शिवाकोटी र आर्थिक पत्रकार समाजका अध्यक्ष सुजन ओलीले प्रशिक्षण दिने तालिम संयोजक लाक्पा शेर्पाले जानकारी दिए । सो तालिम मेलुङ गाउँपालिका र फोनिज बागमती प्रदेशको आर्थिक सहयोगमा सञ्चालन भएको संयोजक शेपाले बताइन् । साथै दोलखा मिडिया प्रालि र तामाङ पत्रकार संघ दोलखा शाखाले प्राविधिक सहयोग रहेको समेत उनले बताइन् ।
त्यसैगरी, तालिममा २२ जना प्रशिक्षार्थीहरु सहभागी रहेका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए । अध्यक्ष पाख्रिनका अनुसार तालिम फेलोसिपसहितको हुनेभएकाले चार समुहमा विभाजन गरी उत्कृष्टलाई पुरस्कारको व्यवस्था रहेको बताए । तालिम चरिकोटमा ३ गते बुधबारदेखि शनिबारसम्म सञ्चालन हुनेछ ।