दोलखा । तामाकोशी गाउँपालिकाले स्थायी केन्द्र तोक्न नसकिरहेका बेला जफेको छौंडेका स्थानीयवासिले छौंडेलाई स्थायी केन्द्र बनाउने अभियान सुरु गरेका छन् । तामाकोशी गाउँपालिका–३ जफे छौँडेका स्थानीयवासीले सो स्थान पालिका सवै वडाहरुलाई पायक पर्ने र भौगोलिक बनावट तथा पूर्वाधारका हिसावले समेत उपर्युक्त भएको भन्दै अभियान सुरु गरेका हुन् ।
स्थानीयवासीले छौंडेमा पालिकाको स्थायी केन्द्र निर्माणकालागि जग्गादान गर्नुका साथै आवश्यक भूगोल तथा संरचना समेत उपलब्ध गराउने बताएका छन् । छौंडेबासीको आज बसेको भेलाले असोज १३ गते आम भेला तथा छलफल गरी स्थायी केन्द्र स्थापनाकालागि परिचालन समिति निर्माण गर्ने निर्णय पनि गरेको छ । स्थानीयले गाउँपालिकालाई कार्यालयगत संरचना प्रारम्भिक चरणमा स्थापना गर्नकालागि आवश्यक घर, भवन तथा कोठा समेत अस्थायी रुपमा निशुल्क उपलब्ध गराउने सहमति जनाएको स्थानीय कमल महतले जानकारी दिनुभयो ।
छौंडेवासीहरुले २०७९ साल फागुन २२ गते भएको सहमति अनुसार पालिकाको स्थायी केन्द्रकालागि ऐलानि तथा रैकर गरी ५८ रोपनी जग्गा गाउँपालिकाको संरचना निर्माणका लागि सरोकारवाला पक्षबाट सहमति भएको बताएका छन् । यस्तै, केन्द्रका लागि आवस्यक मध्येमा उपयुक्त रहेको जफे ३ र मालुको सिमाना अन्तर्गतको ६० रोपनी जग्गा पनि उपलब्ध गराईने प्रयोजनको विषयमा पूर्ण सहमति रहेको उनीहरुको भनाई छ । पालिकाको स्थायी संरचना नबन्दासम्म छौंडे बजारमा रहेका घर तथा भवनहरुको ३२ कोठा र २ वटा सटर समेत निशुल्क उपलव्ध गराउने निर्णय भएको अभियान्ता महतले जानकारी दिनुभयो ।
त्यसैगरी, पालिकाको स्थायी केन्द्रकालागि बिभिन्न स्थानहरु प्रस्ताव गरिए पनि गाउँपालिकाले भने अहिलेसम्म केन्द्रको टुंगो लगाउन सकेको छैन । पालिकामा पहिलो पटक निर्वाचित जनप्रतिनिधि स्थायी केन्द्र नतोकी बिदा भएका थिए भने दोश्रो पटक निर्वाचित जनप्रतिनिधिको कार्यकालय डेढ बर्ष पुरा हुँदा समेत स्थायी केन्द्र टुँगिन सकेको छैन ।