काठमाडौं । नेकपा एमाले वागमती प्रदेशको प्रथम अधिवेशन सोमवारदेखि सुरु भएकोछ । काठमाण्डौंमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
प्रदेश अधिवेशनका लागि एक हजार ८० जना प्रतिनिधिले भाग लिएका छन् । एमालेले प्रतिनिधि छनोटका लागि १२५ सदस्य बराबर एक प्रतिनिधि चयनको मापदण्ड तय गरेको थियो । अधिवेशनमा रजनीतिक तथा सांगठनिक प्रतिवेदनमा छलफल हुनुका साथै प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ ।
अध्यक्ष को बन्ला त ?
बागमती प्रदेशको नयाँ नेतृत्वका लागि नेताहरुले सहमतिको गृहकार्य जारी राखेपनि निष्कर्ष भने निस्किएको छैन । केन्द्रीय नेतृत्वको समेत सहमतिमा जोड भएपनि आकांक्षीहरुले दाबी छाडेका छैनन् । पदाधिकारीमध्ये अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहाल, नुवाकोटका केशव पाण्डे लगायत अध्यक्षको प्रतिस्पर्धामा रहेका छन् । केन्द्रीय सदस्य बाहेकलाई अध्यक्ष बनाउने विकल्पमा सहमतिको अधिकतम प्रयास भैरहेको नेताहरुले जानकारी दिएका छन् ।
मतदानबाटै नेतृत्व टुंग्याउनुपर्ने अवस्था आए आकांक्षी नेताहरुमध्ये कैलाश ढुंगेल, केशव राज पाण्डे र कृष्ण दाहालबीच प्रतिस्पर्धा हुने सम्भावना बलियो छ । प्रतिनिधि चयनमा देखिएको जोडघटाउको कसरत हेर्दा सर्वसहमतिबाट नेतृत्व टुंगिने सम्भावना कम रहेको नेमालेका एक नेताले बताए ।
केन्द्रीय सदस्यमध्येबाट नेतृत्व चयन हुँदा रचना खड्कापनि अध्यक्षका आकांक्षी रहेकी छिन् । उनी विद्यार्थी राजनीतिबाट नवौं महाधिवेशनमै केन्द्रीय सदस्य बनेकी थिईन् । आफूले प्रदेशको नेतृत्व पाउँदा देशभर राम्रो सन्देश समेत जाने उनको भनाई रहेको छ ।
त्यसैगरी, मतदानबाटै नेतृत्व टुंग्याउनुपर्ने अवस्था आउन सक्ने आँकलन गरेरै सोही अनुसारको तयारी गरिएको छ । प्रदेश अधिवेशनको बन्दसत्रको तालिका सार्वजनिक भैसकेको छ । सर्वसम्मत रुपमा नेतृत्व चयन नभए इलेक्ट्रोनिकल भोटिङ मेसिनबाट मतदान गर्ने तयारी रहेकोछ ।