काठमाडौं । सरकारले चाडपर्व लक्षित सहुलियत(सुपथ) मूल्य पसल आगामी असोज २१ गतेबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिन, आपूर्ति सहज बनाउन र बजारमा हुन सक्ने मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारले सहुलियत मुल्यका पसल सञ्चालनमा ल्याउन लागेको हो ।
सरकारी स्वामित्वका संस्थानहरूमार्फत सुपथ मूल्यका पसल असोज २१ देखि मंसिर ३ गतेसम्म सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । दसैँ, तिहार तथा छठजस्ता चाडपर्वका समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
आपूर्ति मन्त्रालयमातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थान लगायत सरकारी संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन हुँदै आएको छ ।
त्यस्तै, सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरामा बजार मूल्यभन्दा प्रतिकिलो सात रुपैयाँसम्म सस्तोमा बिक्री हुनेछ । कर्णालीको सिमी तथा गेडागुडीहरू, फापरको दाना, चिनो, कागुनो र उवा, जिउँदो खसी, बोका तथा च्यांग्रा प्रतिकिलो १० रुपैयाँसम्म छुट दिइएको आपूति मन्त्रालयले जनाएको छ । सरकारले सहुलियत मूल्य पसल सञ्चालनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ ।