पर्यटकीय गन्तव्य रोल्वालिङमा निःशुल्क स्वास्थ्य शिविर

  किशोर कुमार गुरुङ  261 पटक हेरिएको

दोलखा । गौरीशंकर गाउँपालिकाको आयोजनामा पर्यटकीय उपत्यका रोल्वालिङमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उच्च हिमाली क्षेत्र रोल्वालिङ उपत्यकाको बेदिङ र नाँ गाउँमा मंगलबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।

शिविर उद्धघाटन कार्यक्रम गौरीशंकर गाउँपालिका ९, का वडाध्यक्ष ङिमागेली शेर्पाको अध्यक्षता र प्रमुख अथिति गाउँपालिका अध्यक्ष विश्वास कार्की, विशेष अतिथि पालिका स्वास्थ्य प्रमुख वसन्तराज रेग्मी रहेको थियो । कार्यक्रममा विशेषज्ञ डाक्टर सन्तोष कुमार यादव, गौरीशंकर स्वास्थ्य चौकीका प्रमुख एवं हेल्थ असिस्टेण्ड धमेन्द्रजंग हमाल लगायतको कर्मचारीहरु उपस्थिति रहेको थियो ।

रोल्वालिङ उपत्यकाको बेदिङ समुन्द्री सतहदेखि ३ हजार ७२१ र नाँ गाउँ ४ हजार ३ सय मिटर उचाईमा रहेको छ । यी दुबै गाउँमा छुट्टाछुट्टै शिविर चलाएका थिए । सो शिविरबाट स्थानीय सेवाग्राही ४३ जनाले उपचार सेवा लिएका गौरीशंकर स्वास्थ्य चौकीका प्रमुख एवं हेल्थ असिस्टेन्ड धमेन्द्रजंग हमालले जानकारी दिए । प्रमुख हमालका अनुसार शिविरमा रुघाखोकी, ज्वरो, ब्लड प्रेसर, दम, मधुमेह, हाई अल्टिच्युड लगायत रोगको परीक्षण र उपचार गराएको बताए । शिविरमा १८ जनाले भिडियो एक्स रे र २५ जनाले अन्य रोगको उपचार गराएका थिए । शिविरमा रोगको पहिचान गरी २० हजार बरावरको निशुल्क औषधीसमेत वितरण गरिएको थियो ।

शिविरमा प्रमुख अथिति विश्वास कार्कीले भौगोलिक अवस्था जटिल रहेका स्थानहरुमा पालिकाले नियमित नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने बताए । आगामी दिनहरुमा पनि यस्तै नि:शुल्क स्वास्थ्य शिविर गर्दै जाने योजना रहेको पालिका स्वास्थ्य प्रमुख वसन्त रेग्मीले जानकारी दिए । अस्पतालको पहुँच नभएका दुर्गम ठाउँका नागरिकहरुको स्वास्थ्य अवस्थाबारे बुझन् यस्ता स्वास्थ्य शिविरले सघाउ पुग्ने स्वस्थ्य प्रमुख रेग्मीले बताए ।

त्यसैगरी, स्वास्थ्य उपचारका लागि लामो समय हिँडेर वडा स्वास्थ्य चौकी सिमीगाँउ, गोंगर, सिँगटी तथा सदरमुकाम चरिकोट धाउनुपर्ने बाध्यता अन्त्य भएको स्थानीयले खुशी व्यक्त गरे । बेलाबेलामा शिविर सञ्चालन गरी स्वास्थ्य परिक्षण गर्दा स्थानीयलाई ठुलो राहत पुगेको वडाध्यक्ष ङिमागेली शेर्पाले बताए । आगामी दिनमा पालिका र वडाको सहकार्यमा निरन्तर शिविर सञ्चालन गरिने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार