काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६, खाना पकाउने एल पी ग्याँस प्रतिसिलिण्डर २१५ रुपैयाँ र हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
यो वृद्धिसँगै ग्याँसको मूल्य प्रतिसिलिण्डर २ दुई हजार ११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटिर १८२.५ रुपैयाँ, सुर्खेत र दाङमा १८४ रुपैयाँ, काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।
डिजेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १७६.५, सुर्खेत र दाङमा १७८ र काठमाडौं, पोखरा र दिपायलमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
त्यसैगरी, हवाइ इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ । बढेको मूल्य शनिबार राति १२ बजेपछि लागू हुने नेपाल आयल निगमले जनाएको छ ।