दोलखा । बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरस्थित माथिल्लो तामाकोसीको बाँधस्थल नजिकैबाट थप चार केजी अवैध सुन बरामद भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आइतबार ओडारभित्र लुकाइ राखेको अवस्थामा चार केजी सुन बरामद गरेको हो ।
लामाबगरको तामाकोसी बाँधस्थल नजिकै बस्ती पारीपट्टी जंगलको ओडारमा लुकाईराखेको अवस्थामा चार केजी सुन बरामद भएको जिल्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक खड्काले जानकारी दिनुभयो । अवैध रुपमा सुन लुकाइएको आशंकामा डिएसपी दिपक खड्का, इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरिक्षक विक्रम लामा र सीआइबीबाट प्रहरी निरिक्षकको कमाण्डमा आएको विज्ञ सहितको टोलीले तीन दिनदेखि लगातार खोजतलास गरिरहेको थियो ।
गत बुधबार र शुक्रबार दोलखाबाट करिब सात केजी सुन बरामद भएको थियो । यसअघि पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा थप सुन बरामद भएको प्रहरी स्रोतले जनाएको छ । लामाबगरमा चार किलो सुन फेला परेसँगै अवैध रुपमा भित्रिएको ११ किलो सुन बरामद भइसकेको छ । सो सुन प्रकरणमा हालसम्म ७ जना आरोपित पक्राउ परिसकेका छन् ।