सरकारको मुल्यवृद्धि निर्णय २४ घण्टा नवित्दै फिर्ता, इन्धनको मुल्य पुरानै कायम

  गाैरीशंकर टाइम्स संवाददाता  124 पटक हेरिएको


काठमाडौं । सरकारले शनिवार रातिबाट लागु हुने गरी बढाएको इन्धनको मुल्यवृद्धि चौतर्फी दवावपछि फिर्ता लिएको छ । चाडबाडको मुखमा सरकारले खाना पकाउने ग्याँससहितका पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको चौतर्फी आलोचना र विरोध भएपछि मुल्यवृद्धि फिर्ता लिएको हो ।

मूल्यवृद्धि फिर्ता भएसँगै इन्धनको पुरानै मुल्य अर्थात् २९ भदौ रातिबाट लागू भएअनुसारको मूल्यमा बिक्री–वितरण भएको छ । शनिबार मात्रै स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् बैठकबाटै पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएका थिए । त्यसलगत्तै आयल निगम व्यवस्थापनले सूचना जारी गर्दै मूल्यवृद्धि फिर्ता लिएको थियो ।

निगमले शनिबार रातिबाट लागू हुने गरी पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मट्टीतेल समान ६ रुपैयाँ, हवाई इन्धनमा आठ रुपैयाँ प्रतिलिटर र खाना पकाउने एलपी ग्याँस प्रतिसिलिन्डर दुई सय १५ रुपैयाँका दरले बढाएको थियो ।

मूल्यवृद्धि फिर्ता भएपछि सोमबार बिहानदेखि पुरानै मूल्यअनुसार पेट्रोल १ सय ८३, डिजेल र मट्टीतेल १ सय ७३ तथा आन्तरिक हवाई इन्धन १ सय ३६ रुपैयाँमा नै कारोवार भएको छ । त्यस्तै, बाह्य हवाई इन्धन १।०३६ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्याँस १ हजार ८ सय रुपैयाँ प्रतिसिलिन्डरमा नै कारोबार हुने आयल निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार