काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणमा पक्राउ परेका २३ वर्षीय सञ्जय भण्डारीले दिएको थप घटनाको बयानलाई पुष्टि गर्न प्रहरीमाथि चुनौती थपिएको छ । उनले दिएको बयान अनुसार घटनाबारे थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट बिहीबार ७ दिनको म्याद थपिएको छ ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले असोज १ गते पक्राउ गरी सार्वजनिक गरेको थियो। गत भदौ २९ गते राति तीनकुनेस्थित श्री दिव्य सस्मिल तथा काष्ठ उद्योगमा दोलखा घर भएका पूर्णबहादुर भुजेल, पत्नी अम्बिका भुजेल र आमा शुभद्रासँगै नविन भनिने विशाल राईको हत्या गरेको थियो ।
उक्त घटना आफू एक्लैले गरेको प्रहरीसमक्ष भण्डारीले स्वीकार गरिसकेका छन् । घटनाको प्रकृति र उनले प्रहरीलाई दिएको बयान अनुसार ती चारै जनाको हत्या सञ्जयले गरेको पुष्टि भइसकेको छ । तर सोही घटनाको बयान तथा सोधपुछको क्रममा आफूले यस्तै हत्या अरू ठाउँमा पनि गरेको बताएपछि अनुसन्धानमा चुनौती थपिएको परिसरका एक प्रहरी अधिकारीले जानकारी दिए ।
सञ्जयले प्रहरीलाई दिएको बयान अनुसार उनले काठमाडौंको भत्केको पुल (कालोपुल), नक्साल, धुम्बराई, बोडेसँगै सिन्धुपाल्चोकको विभिन्न ठाउँमा मानिसको हत्या गरेको बताएका छन् । उनी बोल्न नसक्ने भएका कारण सांकेतिक र लिखत रूपमा बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ । ।