अनलाइन सट्टेबाजी “फिफिया” एप बन्द, सर्वसाधारणको एक अर्बभन्दा बढि रकम फस्यो

  गाैरीशंकर टाइम्स संवाददाता  258 पटक हेरिएको

काठमाडौं । नेटवर्किङ शैलीमा सञ्चालित अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म फिफियाको एप बन्द भएको छ । फिफियाको वेबसाइट तथा एप गएको शनिवार राति करिब १० बजेदेखि साइट बन्द भएको हो ।

नेपालमा कानूनी भएको देखाउन दर्ता गरिएका कागजात देखाएर सो प्लेटफर्मका एजेन्टले हजारौं नेपालीलाई उक्त प्लेटफर्ममा आबद्ध गराएका थिए । तर, उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूले एउटा प्रयोजनका लागि कम्पनी दर्ता गरेर नेपालमा अवैध रूपमा सट्टेबाजी खेलाउन थालेको फेला पारेको थियो ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार फिफिया विभिन्न नाममा फरक–फरक तरिकाले दर्ता भएको पाइएको छ । ‘फिफिअ इन्टरनेट मिडिया प्रालि’ नाम गरेको संस्था कम्पनी रजिस्ट्रार कार्यालयमा ३११६५६/७९/०८०नम्बरमा दर्ता भएको देखिन्छ । त्यस्तै, स्थायी लेखा नम्बर ६१०४९२५४३ रहेको र कारोबारको नाम ‘फिफिअ इन्टरनेट मिडिया प्रालि’ नामबाट काठमाडौं महानगरपालिका–७ चाबहिलमा सोही प्रकृतिको कम्पनी सञ्चालित प्रहरीले जनाएको छ ।

यसरी अवैध “फिफिया” प्लेटफर्ममा आबद्ध गराइ ठगी गरेको आरोपमा प्रहरीले दादिकी शेर्पा (राई) लाई पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि सो प्लेटफर्ममा रकम जम्मा गर्नेहरू आफ्नो रकम निकाल्न थालेका थिए । तर ठूलो सङ्ख्यामा रहेका प्रयोगकर्ताले एकसाथ रकम निकाल्न थालेपछि उक्त प्लेटफर्मले सबै प्रयोगकर्ताको रकम रोक्का गरिदिएको थियो ।

फिफियाको अवैध धन्दा पर्दाफास भएपछि ह्वाट्सएप तथा टेलिग्राम जस्ता सामाजिक सञ्जालमा कैयौं ग्रुपहरू खुलेका छन् । जहाँ प्रयोगकर्ताले आफ्ना गुनासो पोखिरहेको देखिन्छ । त्यहाँ गुनासो पोख्ने प्रयोगकर्तालाई निशानामा राखी रकम निकालेर सहयोग गरिदिने प्रलोभन देखाएर समेत थप ठगी गर्ने कार्य भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जनाकारी दिए ।

फिफियाका एजेन्टले नेपालमा प्रयोगकर्तालाई आकर्षित गर्नका लागि आफ्नो कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय खेलको प्रचार गर्ने र त्यसैबाट भएको आम्दानी प्रयोगकर्तालाई उपलब्ध गराउने आश्वासन दिएका थिए । दैनिक तीन पटकसम्म रकम बेट गर्न मिल्ने भनिएको सो प्लेटफर्मबाट प्रयोगकर्ता दिनको अन्त्यमा १.४८ प्रतिशत नाफा कमाइरहेका थिए । तर त्यो सबै प्रयोगकर्तालाई फसाउने जालो रहेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताएका छन् ।

केही समयअघि ‘किम्बे’ नामक पिरामिड शैलीको अनलाइन ठगी धन्दा सञ्चालनमा थियो । फिफिया पनि उही प्रकृति पाइएको प्रहरी अनुसन्धानले देखाएको छ । फिफिया एपमा तीन जनाले मात्रै १० लाख रुपैयाँ बराबरको रकम जम्मा गरेका छन् । खाता खोल्दाखोल्दैको जम्मा हुने तीन सयका दरलाई मात्रै हिसाब गर्ने हो भने एक लाखजति प्रयोगकर्ताको थोरैमा पनि तीन करोड बराबरको अवैध कारोबार गरेको अनुमान गर्नु सकिन्छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार अवैध धन्दामा एक अर्बभन्दा बढी कारोबार रहेको अनुमान छ, डिजिटल वालेटहरूबाट कारोबार भएको हुदाँ विवरण मागेर अनुसन्धान गरिने बताए ।

कसरी ठगिए सर्वसाधारण

“फिफिया” एप सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, टेलिग्राम र भाइबरबाट तीव्र गतिमा फैलिएको देखिन्छ । एप इन्स्टल गर्नका लागि एउटा लिंक पठाइन्छ । यसरी एकले अर्कालाई लिंक पठाउँदा कमिसन पाइने भएपछि यो सामाजिक सञ्जालबाट तीव्र विस्तार भएको थियो । यसरी पठाइएको फिफिया एपको लिंक खोलेर डाउनलोड गरेपछि बैंक खातालगायतका वैयक्तिक विवरण अपडेट गर्नु लगाइन्छ ।

फिफिया खाता खोल्नेबित्तिकै तीन सय रुपैयाँ रकम बोनसका रूपमा पाइने र उक्त रकम प्रत्येक ९० मिनेटमा १.४८ प्रतिशतका दरले प्रतिदिन तीन पटक बढ्छ । अर्थात् २४ घण्टामा ४.४४ प्रतिशतले रकम बढ्छ । आफ्नै आँखा अगाडि पैसा बढ्ने भएपछि प्रयोगकर्ताले आफ्नो बैंक खातामा भएको रकम पनि सोही फिफिया खातामा जम्मा गरेका थिए ।

यसरी जम्मा भएको रकम पनि बढ्दै जान थालेपछि खातामा रकम हाल्नेहरूको संख्या पनि थपिँदै गयो । फिफिया एपको भर्चुअल खातामा जम्मा भएको रकम आफ्नो बैंक खातामा पठाउँदा प्रत्येक कारोबारमा पाँच प्रतिशतका दरले काटिन थालेपछि भने प्रयोगकर्ताहरू झस्किए । त्यसपछि बल्ल यो ठगीको जालो रहेछ भन्ने थाहा पाएर प्रहरीमा उजुरी परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार