काठमाडौं । दसैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षिय छलफलपछि २२ गते सोमबारदेखि अग्रिम टिकट बुकिङ खोल्न व्यावसायी सहमत भएको हो ।
सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनीधि बीच भएको छलफलमा पुरानै भाडादरमा दशै तिहार चाडपर्व लक्षित गरी असोज २२ गतेदेखि टिकट बुकिङ खोल्ने महासंघका अध्यक्ष विजय स्वारले जानकारी दिनुभयो । यसअघि भाडा बृद्धिको विषयमा विमति भए पनि हालै मन्त्रालयमा भएको छलफलमा व्यावसायीले विद्यमान दरमै अग्रिम टिकट दिने सहमति गरेका छन् ।
दशैंको समयमा काठमाडौं उपत्यका छाडेर गाउँ फर्किनेको संख्या ह्वात्तै बढ्ने भएकाले विभागले हरेक वर्ष अग्रिम टिकट खुलाउने गरेको छ । दशैको समयमा प्रत्येक वर्ष करीब २० लाखले काठमाडौं छाड्ने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी, अग्रिम टिकट बुकिङ खुल्ला गरिएपछि यात्रुको चाप हुने स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।