आजदेखि देशभर सहुलियत मूल्यका पसल सञ्चालन हुदै

  गाैरीशंकर टाइम्स संवाददाता  144 पटक हेरिएको

काठमाडौ । सरकारले चाडपर्व लक्षित गरेर आजदेखि सहुलियत पसल सञ्चालन गर्दैछ । दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्यका पसल सञ्चालन गर्न लागेको हो ।

उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा उपत्यका र उपत्यका बाहिर सहुलियत मूल्यका पसल सञ्चालन गर्न लागिएको हो ।

उपत्यकाबाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालिकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल सञ्चालन हुनेछ ।

सरकारले सहुलियत मूल्य पसलका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्टाएको छ । साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड बजेट छुट्टाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपियाँ मूल्य तोकेको छ । बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ ।

दुग्ध विकास संस्थानले घ्युउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिने जनाएको छ । सरकारले दशै, तिहार र छड पर्व लक्षित गरी उपभोत्तलाई बजारमा महंगी, कालोबजारी र ठगी हुनबाट रोक्नको लागि सहुलियतपूर्ण पसल सञ्चालन गरिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, कम्पनीले हरेक वर्ष चाडपर्व लक्षित सहुलियत मूल्यका पसल सञ्चालन गरिदै आएको छ । चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार