काठमाडौं । इजरायलमा प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । । तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको पुष्टि गरेकी हुन् ।
इजरायलमा पढ्न गएका उनीहरु सुतिरहेको स्थानमा बम खसेपछि घटना भएको त्यहाँ रहेको नेपालीहरुले जनाएका छन् । यसबारे परराष्ट्र मन्त्रालयले केहीबेरमा जानकारी दिने जनाएको छ ।
राजदूत रिजालले बताएअनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार रहेका छन् ।
पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको राजदुतावासले जनाएको छ ।
आक्रमणका क्रममा कञ्चनपुरको भीमदत्त–३ का विपिन जोशी सम्पर्कविहीन रहेका छन् । गोरखाको गोर्खा-८ का हिमाञ्चल कट्टेल, कैलालीको टीकापुर-९ का धनबहादुर चौधरीको अवस्था सामान्य रहेको दुतावासले जनाएको छ । दुवै जना उपचाररत छन् ।
त्यस्तै, सल्यानको शारदा-२ का विधान सेजुवाल र दाङको दंगीशरण-३ का प्रविण डाँगीको खुट्टामा चोट लागेको र उनीहरुको उपचार भइरहेको छ । सल्यानको त्रिवेणी गाउँपालिका-१ का प्रमोद केसी, कैलाली भजनी-४ का वीरेन्द्र चौधरी सुरक्षित रहेका छन् । शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो ।