इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा राष्ट्रिय शोकको घोषणा, आज राष्ट्रिय झण्डा आधा झुकाइने

  गाैरीशंकर टाइम्स संवाददाता  93 पटक हेरिएको

काठमाडौँ । सरकारले आज इजरायलमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको दुःखमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आज एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो ।

सरकारले बैठकमा मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाइने छ । शनिवार इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।

सरकारले मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने निर्णय गरेको छ । यस्तै मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको छ ।

इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँग समन्वय र सहयोगमा बेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

त्यसैगरी, दूतावासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण अनलाइन माध्यमबाट संकलन गरेर परराष्ट्र मन्त्रालयमा पठाउन आग्रह गरेको छ । यसरी नेपाल फर्किन चाहे नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र नेपाल ल्याउने निर्णय पनि भएको सञ्चारमन्त्री शर्माले जानकारी दिएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार