सिनर्जी पावर कम्पनीले सेयर लिलामी गर्ने तयारी, कहिले खुल्छ र कहाँ दिने आवेदन ?

  गाैरीशंकर टाइम्स संवाददाता  303 पटक हेरिएको

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले कार्तिक १ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको ५ लाख ६३ हजार २ सय ३१ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

कम्पनीले भदौ ३ देखि भदौ ३१ गतेसम्म २:१ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । हकप्रदमा बिक्री नभएको शेयर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो । उक्त लिलामीको शेयरमा लगानी कर्ताले कार्तिक १ देखि १५ गतेसम्म आवेदन दिन सकिने छ ।

शेयर लिलाम प्रकियाका लागि सानिमा क्यापिटल बिक्री प्रबन्धकलाई नियुक्त गरिएको छ । लिलामीको शेयरमा सानिमा क्यापिटलको कार्यालय नक्साल साथै सानिमा बैंकका शाखाहरु हेटौडा, नारायणगढ, विराटनगर, बिर्तामोड, जनकपुर, बिरगञ्ज, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, महानेद्रनगर, र पोखरा(न्युरोड) शाखाबाट आवेदन दिन सकिने छ । त्यस्तै गरिमा विकास बैंकको बाग्लुंग शाखाबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, कम्पनीले हकप्रद निस्काशनबाट प्राप्त हुने रकमको ५० प्रतिशत स्वामित्व रहेको एपेक्स मकालु हाईड्रोपावरमा लगानी गर्ने जनाएको छ । एपेक्स मकालु हाईड्रोपावरले सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा २२ मेगावाटको मध्य होङ्गु खोला जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । सोलुखुम्बुको निर्माणाधिन अवस्थामा रहेको उक्त आयोजनाले ३ बर्षमा निर्माण सम्पन्न गरि विद्युत उत्पादन शुरु गर्ने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार