दोलखा । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले गत भदौ १८ गतेदेखि निष्काशन गरेको हकप्रद सेयरको आवेदन दिने समय सोमबार बेलुकी सकिएको थियो । कम्पनीले हकप्रद सेयर भर्न समय थप गर्दा पनि सोमबार बेलुकासम्म ३ करोड ८ लाख ७२ हजार ६ सय ५६ कित्ता सेयरको मात्रै आवेदन परेको छ ।
कम्पनीले असोज २२ गतेसम्म हकप्रद आवेदन भर्ने समय थपेको थियो । कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेकोमा सो अनुसार नै १० करोड ५९ लाख कित्ता हकप्रद सेयरको लागि निवेदन आह्वान गरिएको थियो । तर, कम्पनीले हकप्रद भर्न समय थप गर्दा पनि ३ करोड ८ लाख ७२ हजार ६ सय ५६ कित्ता सेयरको लागि भन्दा बढी आवेदन पर्न नसकेको सेयर रजिष्टार कार्यालय सनराइज क्यापिटलले जनाएको छ ।
दोलखाको विगु गाउँपालिका १, लामाबगरस्थित ४५६ मेगावाट क्षमताको अप्पर तामाकोशी हाइड्रोपावर निर्माण गरी सञ्चालनमा ल्याएको अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले १:१ अर्थात शतप्रतिशतको अनुपातमा हकप्रद जारी गरेको थियो । त्यसबाट कुनै प्रतिफल नआउने भएपछि लगानी कर्ताको आकर्षण घटेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन गरेर संकलित रकम ऋण चुक्ता गर्ने र केही रकम २२ मेघावटको रोल्वालिङ हाइड्रोमा लगानी गर्ने जनाएको थियो । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड कायम रहेको छ । कम्पनीको हकप्रद सेयर जारी भएपछि चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
अझै पनि कम्पनीको ७ करोड ५० लाख २७ हजार ३ सय ४४ कित्ता सेयरको लागि आवेदन परेको छैन । आवेदन नपरेको सेयर कम्पनीले लिलामीमा बेच्ने गर्दछ । अहिले अप्पर तामाकोशीको सेयर वजार मूल्य २ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । मंगलबार सेयर बजारमा कम्पनीको सेयर प्रतिकित्ता २ सय रुपैंया कायम रहेको थियो । सेयर बजारमा मूल्य घटिरहँदा र माथिल्लो तामाकोशी हाइड्रोपावरको विद्युत विक्री भएको केही वर्ष वितिसक्दा पनि लगानीकर्ताले लाभांश तथा बोनश नपाएपछि निराशा छाएको हो ।
त्यसैगरी, कम्पनीको आइपिओ जारी गर्दा लगानी कर्ताले ठुलो अपेक्षा र हौसला राखेर लगानी गरेको थियो । कम्पनीले कर्माचारी, आयोजना प्रभावित, स्थानीय र सर्वसाधरण गरी तीन चरणमा आवेदन आह्वान गरी आइपिओ जारी गरेको थियो । कुनै प्रतिफल नआउने भएपछि स्थानीय लगानीकर्तालाई सेयर झन्झटिलो बनेको छ । आयोजनाबाट खरिद गरेको सेयर अभौतिकीकरण गर्न डिम्याट नम्बर, मेरो सेयर र ब्रोकर आइडी लगायतको झनझटले गर्दा अधिकांश स्थानीयको सेयर अभौतिकीकरण समेत हुनसकेको छैना । अझै स्थानीय लगानीकर्ताले सेयर आफ्नो डिम्यट खातामा अभौतिकीकरण गर्न करिब २ लाख सेयरधनी रहेको रजिष्टार कार्यालय सनराइज क्यापिटलले जनाएको छ ।