काठमाडौं । सरकारले नेपाली विद्यार्थीको उद्धार र स्वदेश फिर्ताको प्रबन्ध गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई इजरायल पठाउन लागेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री साउदको नेतृत्वमा उद्धार टोली पठाउने निर्णय गरेको हो ।
बैठकपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले इजरायलमा जोखिममा रहेका नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री साउद नेतृत्वको टोली त्यसतर्फ जाने तयारी भएको बताए । उनका अनुसार बुधबार राति ११ बजे मन्त्री साउदसहितको टोली नेपाल एयरलाइन्सको विमान लिएर इजरायल जाने बताए ।
नेपाल फर्कन चहानेले आफै आए खर्च सरकारले व्यहोर्ने
मन्त्रिपरिषद्को बैठकले हाल इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक रुपमा जहाज चढेर आउन चाहे टिकट भाडा सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ । प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मत्यु भएको थियो ।
यसक्रममा ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कबिहीन रहेका दुतावसले जनाएको छ । तनावग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्रले सुरक्षित स्थानमा सारिएको छ ।
त्यसैगरी, तेल अबिबस्थित नेपाली दूताबासका अनुसार करिव ४०० जना नेपालीले घर फर्कन विवरण टिपाएका छन् । दुतावासले मृतकहरुको शव ल्याउन कानुनी प्रक्रिया पूरा भएपछि नेपाल पठाउने तयारी रहेको जनाएको छ ।