काठमाडौं । नेपाल एयरलाइन्सका जहाज दुई सय ५४ जना नेपाली नागरिक लिएर इजरायलबाट उडेको छ । सरकारले आज इजरायलबाट दुई सय ५४ विद्यार्थीलाई उद्धार गरेर स्वदेश फर्काउन लागेको हो ।
प्यालेस्टाइनी हमास समूहको हमलापछि युद्धग्रस्त इजरायलबाट नेपालले आफ्ना नागरिक पहिलो चरणमा फिर्ता ल्याएको हो । दुई सय ७४ सिट क्षमताको नेपाल एयरलाइन्सको एयरबस ३३० वाइडबडी जहाज बुधबार राति इजरायल गएका थिए । इजरायलस्थित तेल अभिभ विमानस्थलबाट उडेको जहाज आजै राति १:३० काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
त्यसैगरी, उद्धारका लागि गएका परराष्ट्रमन्त्री एनपी साउदसमेतसँगै फर्किएका छन् । इजरायलमा दुई सय ६५ जना नेपाली विद्यार्थीमध्ये हमासको आक्रमणबाट गत शनिबार १० जनाको मृत्यु भएको थियो ।