दोलखाको तीनसहित चार जनाको हत्या आरोपित सञ्जय भण्डारी जेल चलान

  गाैरीशंकर टाइम्स संवाददाता  169 पटक हेरिएको

काठमाडौं । दोलखाका तीन सहित चार जनाको हत्या आरोपी सञ्जय भण्डारी जेल चलान भएका छन् । गत भदौ २९ गते राति तीनकुनेस्थित दिव्य समिलमा चार जनाको विभत्स हत्या गरेको आरोपमा पक्राउ परेका भण्डारीलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–९ का २३ वर्षिय सञ्जय भण्डारीलाई शुक्रबार जेल चलान गरिएका हुन् । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा हत्यामा संलग्न भण्डारीलाई प्रतिवादी बनाएर मुद्धा दायर गरेको थियो । भण्डारीले गत भदौ २९ गते दोलखाको कालिञ्चोक गाउँपालिका–८ निवासी पूर्णबहादुर भुजेल, उनकी श्रीमति अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र धनकुटाका नविन राईको हत्या गरेका थिए ।

सञ्जयलाई प्रहरीले असोज १ गते पक्राउ गरी सार्वजनिक गरेका थिए । घटनाको अनुसन्धान सकेर बुधबार मात्रै प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरूद्ध काठमाडौं जिल्ला अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ ।

सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा अभियुक्तलाई जीवित रहेसम्म कैद हुनेगरी जन्मकैदको सजाय मागदाबी गरिएको छ । सञ्जयले दिएको वयानका आधारमा अन्य ठाउँमा पनि मानिसहरूको हत्या गरेको बताएपछि प्रहरीलाई अनुसन्धान गर्न सकस परेको थियो ।

शुक्रबार सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध दायर गरेको मुद्दाको अभियोगपत्रमा सञ्जयले काठमाडौं, भक्तपुर र सिन्धुपाल्चोकका ९ स्थानमा धारिलो हतियार प्रहार गरी मान्छे मारेको बताएको उल्लेख गरेको छ। यस सम्बन्धमा अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरले सीआइबीलाई पत्राचार गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार