गौरीशंकर, दोलखा । गौरीशंकर गाउँपालिकाले दशैको अवसरमा शुभकामना आदनप्रदानसँगै वडागत शिक्षकबीच हाजिरीजवाफ र जनप्रतिनिधि, शिक्षकबीच हाँडी फुटाइ प्रतियोगिता आयोजना गरेको छ । पालिकाले विहीवार प्रत्येक वडाका शिक्षक र जनप्रतिनिधिबीच हाजिरीजवाफ तथा हाँडी फुटाउँने प्रतियोगिता आयोजना गरी सम्पन्न गरेको हो ।
विहीवार सम्पन्न कार्यक्रममा पालिका भित्रका वडागत शिक्षकबीच भएको हाजिरीजवाफमा वडा नं. ४, झ्याँकु विजेता भएको छ । प्रतियोगितामा दोस्रो स्थानको लागि चारवटा टिमको बराबर अंक आएपछि गोलाप्रथाबाट छनोट गरिएको थियो । जसमा वडा नं. २, जुँगु दोस्रो र वडा नं. ३, झ्याकुले तेस्रो स्थानको जित हासिल गरेको छ । विजेता टिम प्रथम, द्धितिय र तृतियले ८, ६ र ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
जनप्रतिनिधि र शिक्षकबीच भएको हाँडी फुटाइ प्रतियोगितामा निलकन्ठेश्वर आवासीय विद्यालय जुँगुका शिक्षक रोशन कार्की प्रथम भएका थिए । पालिकाले आयोजना गरेको कार्यक्रममा शिक्षा अधिकृत भीमसेन बिष्टको अध्यक्षता र पालिका प्रमुख विश्वास कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पालिका भित्रका सबै जनप्रतिनिधि लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी, खेलकुदसँगै दशैँ, तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदानसहितको कार्यक्रम पालिका केन्द्र सुरीस्थित हलेश्वर माध्यमिक विद्यालयमा भएको थियो । कार्यक्रममा चाडपर्व विशेष साँस्कृतिक तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।