दशै मनाउन तीन दिनमा एक लाख ५० हजार यात्रु उपत्यका बाहिरिए

  गाैरीशंकर टाइम्स संवाददाता  130 पटक हेरिएको

काठमाडौं । दशै मनाउनका लागि काठमाडौं उपत्यकाबाट तीन दिनमा एक लाख ५० हजार यात्रु बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सघ/संस्था बन्द भएपछि दशै मनाउनका लागि यात्रु गाउँ फर्किन थालेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएका बताए । उनका अनुसार आइतबार बिहानदेखि सोमबार बिहान ६ बजेसम्म ५१ हजार ३८७ यात्रु बाहिरिएका छन् । शनिबार बिहानदेखि आइतबार बिहानसम्म ५१ हजार २७९ र शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म ४७ हजार ६४३ यात्रु बाहिरिएका थिए ।

सोमबार दशैको दोस्रो दिन चलिरहँदा बाहिरिनेको संख्या बढिरहेको एसएसपी भट्टले जानकारी दिए । ट्राफिक प्रहरीले २४ घन्टाको रेकर्ड राख्ने गरेको छ । ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । यातायात सहजताका लागि उपत्यकाभित्र एक हजार आठ सय जनशक्ति परिचालन गरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

त्यसैगरी, दशैका लागि यातायात व्यवस्थापनलाई सहज बनाउन असोज २६ गतेदेखि देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा यसपटक धेरै यात्रुहरू बाहिरिने अनुमान गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार