गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु, के गर्न र के गर्न नपाइने ?

  गाैरीशंकर टाइम्स संवाददाता  110 पटक हेरिएको

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्ने अभियान सुरु गरेको छ । मंगलबार बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई पहिलो नागरिकता दिँदै अभियान सुरु गरेको हो ।

आचार्यले पर्वत जिल्ला प्रशासन कार्यालयबाट असोज २८ गते जारी गरेको नागरिकता प्रधानमन्त्रीले आचार्यलाई प्रदान गर्दै अभियानको सुरुवात गरे । यस्तै गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्री केसीले पनि असोज २९ गते जारी गरेका नागरिकताको प्रमाणपत्र लिएका छन् । नागरिकता प्राप्त गरेपछि उनीहरूले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने छ ।

गत जेठमा नागरिकतासम्बन्धी ऐन संशोधन भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलाएको थियो । भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको नागरिकता नियमावली तेस्रो संशोधनमा शपथको व्यवस्था राखिएको छ । गत जेठ १७ गते सरकारले नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरी ऐनको दफा ७ (क) मा तोकिए बमोजिम शपथ गराउनुपर्ने छ ।

गैरआवासीय नेपालीले नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुवा, हजुरबुवा–हजुरआमा साविकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने नियमावलीमा उल्लेख छ। विगतमा नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण पनि आवश्यक पर्ने छ।

एनआरएनए नागरिकता वाहकले मतदान गर्ने, राजनीतिक दल खोल्ने वा दलको पदाधिकारी हुने, जनप्रतिनिधि हुने, राजनीतिक नियुक्तिमा जाने राजनीतिक अधिकार पाउने छैनन् । सरकारी सेवामा प्रवेश गर्ने प्रशासकीय अधिकार पनि एनआरएनए नागरिकता वाहकले पाउने छैनन् ।

त्यसैगरी, नागरिकता लिएपछि उनीहरूले अरू नेपाली नागरिक सरह सम्पत्ति जोड्न र व्यापार व्यवसाय गर्न सक्ने अधिवक्ता सुनिल पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार