पत्रकार महासंघ दोलखामा तालाबन्दी, सदस्यता शुद्धीकरणको निर्णय सच्याउन आग्रह

  गाैरीशंकर टाइम्स संवाददाता  107 पटक हेरिएको

दोलखा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको कार्यालयमा प्रेस चौतारी नेपालले तालाबन्दी गरेको छ । दोलखामा महासंघले सदस्यता शुद्धीकरण अभियानमा मापदण्ड विपरीत सदस्यता नवीकरण, नाम कटौती तथा नयाँ सदस्य थप गरेको भन्दै प्रेस चौतारीले असहमति जनाउदै तालाबन्दी गरेको हो ।

गलत निर्णय सच्चाउनका लागि पत्रकार महासंघले प्रदेश र जिल्लालाई आग्रह गर्दा पनि मनोमानी गरेपछि तालाबन्दी गर्न बाध्य बनाएको प्रेस चौतारी नेपालका अध्यक्ष प्रभु जिरेलले जानकारी दिए । मापदण्डले एउटै प्रकृतिका आफू निकटलाई नछुने र अन्य सदस्यलाई हटाउने जस्ता लज्जास्पद निर्णय सच्चाएर शुद्धीकरण मापदण्ड लागु गराउन प्रेस चौतारीले माग गरेको थियो ।

दोलखामा जिल्ला शाखाबाट बिना प्रमाण नवीकरण भएका र शुद्धीकरण मापदण्ड विपरीत सिफारिस गरिएका नयाँ सदस्यको बारेमा उजुरी गर्दा समेत त्यसको सुनुवाइ नगरी उल्टै मापदण्डले सदस्य स्वीकार गरेका क्रियाशील पत्रकारहरूको नाम हटाएर महासंघको प्रदेश समितिले केन्द्रीय समितिमा सिफारिस गर्नुले महासंघ पत्रकारको संगठन नभई गैरपत्रकारहरूको खुराफाती गर्ने थलो बनेको प्रष्ट हुन्छ’, प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रेस चौतारी नेपालको सदस्य भएकै कारण क्रियाशील पत्रकारलाई नयाँ सदस्यता नदिने र मापदण्डले स्वीकार गरेका पत्रकारहरूको समेत सदस्यता नवीकरण नगर्ने, मापदण्ड विपरीत हुने एउटै प्रकृतिका कोही व्यक्ति महासंघको सदस्य रहने र कोही नरहने, महासंघको जिल्ला र प्रदेश समितिका नेतृत्वले राजनीतिक आस्थाका आधारमा मनोमानी रूपमा नयाँ सदस्यता प्रदान गर्ने, मापदण्ड बाहिरका निष्क्रिय पत्रकारको सदस्यता नवीकरण गर्ने जस्ता घृणित र अवाञ्छित कदमप्रति प्रेस चौतारी नेपाल दोलखा शाखाले खेद व्यक्त गरेको छ ।

त्यसैगरी, पत्रकार महासंघको बागमती प्रदेश समितिले सिफारिस गरी केन्द्रीय समितिले सार्वजनिक गरेको नामावलीका सम्बन्धमा पुनर्विचार नभए सशक्त प्रतिकारमा उत्रनुको विकल्प नहुने जानकारी गराउँदै अनिश्चितकाका लागि महासंघको शाखा कार्यालयमा तालाबन्दी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रेस विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार