काठमाडौं । गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोका दरबारको दशैं घरमा भित्र्याइएको छ । नेपालीहरुको महान पर्व वडा दशैंको सातौँ दिन गोरखा दरवारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको हो ।
शनिबार बिहान ८ बजेको शुभ साइतमा गोरखा दरवारबाट निकालिएको फूलपाती अपरान्ह साढे ४ बजे बाजागाजासहित दशै घरमा भित्र्याइएको छ । अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपाती दशै घरमा भित्र्याइएको हो ।
नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको छ । राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय पाएपछि काठमाडौंलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमान ढोका ल्याउने प्रचलन शुरु भएको बताइन्छ ।
गोरखाबाट पठाइएको फुलपाती ३:३० बजे जमलस्थित फूलपाती विश्रामस्थलमा आइपुगेको थियो । फूलपाती लिन हनुमानढोका दरबारबाट डोलीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, स्थानीय क्लब एवं स्थानीयवासीसहितको टोली जमल पुगेका थिए ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइएको हनुमानढोका हेरचाह अड्डाले जनाएको छ ।