काठमाडौं । नेपालगञ्जका चेतन मानन्धनरका हत्या अभियुक्त योगराज ढकाल ‘रिगल’लाई बाँके कारागार पठाइएको छ । बिहीबार पक्राउ परेका उनलाई शुक्रबार बाँके जिल्ला अदालतले कारागार पठाएको हो ।
संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको रिगलको कैदमाफी सर्वोच्च अदालतले बदर गरेपछि पक्राउ गरेर कारागार पठाइएको हो । जेलर अर्जुनजंग शाहले रिगललाई नेपालगञ्ज कारागारमा ल्याइसकेको जानकारी दिए । सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सजाय छुट बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो।
रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग लागेको थियो । हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । उक्त घटनामा संलग्नअन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।
त्यसैगरी, उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध रहेका रिगललाई संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रपति पौडेलले कैद माफी दिएका थिए । हल्या आरोप पुष्टि भएका रिगललाई कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।