काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितलाई सहयोग उपलब्ध गराएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिले भुकम्पबाट पिडितलाई राहत स्वरुप ५० लाख रुपैया उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
शुक्रबार राति जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युड भुकम्पका कारण ठुलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको थियो । भुकम्पले जाजरकोट र रुकुम पश्चिममा बढी क्षति पुर्याएको हुदाँ राहतको लागि नेपाली कांग्रेसले सहयोग राशी घोषणा गरेको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले प्राकृतिक विपद्को समयमा सरकार, राजनैतिक दलहरु, संघसंस्था लगायत सवै एक भएर विपत्तिको सामना गर्न आह्वान गरेको छ ।
भूकम्पका कारण ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौंको संख्यामा आम नागरिकहरु घाइते भएको घटनाले सम्पूर्ण नेपालीलाई नै शोक विह्वल र स्तब्ध बनाएको भन्दै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न सबैमा अपिल समेत गरेको छ ।