काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प प्रभावितका लागि १ करोड ११ लाख १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । गुरुङले भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।
भूकम्प प्रभावितलाई राहतको लागि यथासक्य सहयोग गर्ने उद्देश्यका साथ कोषमा रकम उपलब्ध गराइएको सञ्चालक गुरुङले जनाएको छ । गुरुङले सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई सो रकमको चेक प्रदान गरेका हुन् ।
शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले सो घोषणा गरेका थिए । निजी क्षेत्रबाट प्रधानमन्त्रीलाई ठुलो राहत रकम हस्तान्तरण गर्ने उनी पहिलो सहयोगीदाता हुन् ।