काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न भन्दै राष्ट्रपति पौडेल मंगलबार जाजरकोट पुगेका हुन् ।
भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझन मंगलबार जाजरकोट पुगेका राष्ट्रपति पौडेलले जाजरकोटका जनप्रतिनिधि, सर्वसाधारण र भूकम्प प्रभावितहरुसँगको छलफलमा अहिले नै सबै कुरा सोचविचार गरेर काम गर्न ध्यान दिनुपर्ने बताए । भूकम्प पिडीतहरूले राष्ट्रपति पौडेलसँग उपचार, खाद्यान्न, घर निर्माणसहितको व्यवस्था गरिदिन आग्रह गरेका छन् । राष्ट्रपतिले जनप्रतिनिधिहरुलाई भूकम्पको क्षति तथा अवस्थाबारे सही तथ्यांक राख्न पनि आग्रह गरेका छन् ।
उनले तत्काल बसोबासको लागि पाल, स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रबन्ध तथा दीर्घकालिन रुपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी आवास निर्माण गर्नुपर्ने वताए । राष्ट्रपति पौडेलले खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिएका छन् ।
त्यसैगरी, भूकम्पपछि देशको अवस्था प्रतिकूल भएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।