काठमाडौं । नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका आईफोन १५ सिरिजका फोन लक गर्दै एमडीएमएस लागू गरेको हो ।
प्राधिकरणका अनुसार एमडीएमएसमा दर्ता नभएका ८०४ ओटा आईफोन १५ सिरिजका फोनमा सोमबार राति देखि सेवा बन्द भएको छ । आईफोन १५ सिरिज अन्तर्गत करिब एक हजार डिभाइसमा एमडीएमएसमा दर्ता हुन १५ दिनअघि एसएमएस पठाइएको थियो । त्यसमध्ये ८०४ डिभाइस तोकिएको समयभित्र दर्ता नभएकाले सेवा बन्द गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले अर्को चरणमा एमडीएमएसमा दर्ता नभएका अन्य हाईइन्ड तथा महँगा फोनहरूमा पनि प्रणाली लागू हुने जानकारी दिएको छ । यसअन्तर्गत एमडीएमएसमा दर्ता नगरी प्रयोगमा आएका फोनमा १५ दिनको म्याद राखी तोकिएको दस्तुरसहित दर्ता गर्न एसएमएसमार्फत आह्वान गरिनेछ । सो अवधिमा दर्ता नहुने डिभाइस नियामनुसार ब्लक हुनेछ ।
त्यसैगरी, ब्लक भएका फोनका लागि एमडीएमएसमा दर्ता गर्ने अर्को प्रक्रिया नभएकाले नेपालमा यी डिभाइस नचल्ने प्राधिकरणले जनाएको छ ।