आज यमपञ्चको पहिलो दिन, काग तिहार

  गाैरीशंकर टाइम्स संवाददाता  122 पटक हेरिएको

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् तिहारको पहिलो दिन काग तिहार हो ।

कार्तिक कृष्ण त्रयोदशी एवं यमपञ्चको पहिलो दिन कागको पूजा गरि कागतिहार मनाउने गरिन्छ । तिहारको पहिलो दिन कागको पूजा गर्नुका विभिन्न कारण रहेका छन् । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रियभक्त पनि हो । त्यसैले यसदिन कागको पूजा गरि कागतिहार मनाउने गरिएको धार्मिक विश्वास रहेको छ ।

यमराजको दूत कागलाई सन्देशवाहक पनि भनिन्छ । यो दिन कागको पूजा गर्दा फूल–अक्षताको आवश्यकता पर्छ । फूल–अक्षता आकाशमा छर्ने वा छतमा राख्ने गरिन्छ । त्यसपछि कागका लागि मिठाई तथा विभिन्न परिकारका खानेकुरा दुना वा टपरीमा राखिदिने चलन रहेको छ ।

यस वर्ष कात्तिक २५ गते काग तिहार, २६ गते कुकर तिहार तथा लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गोवर्धन पूजा तथा म्हस् पूजा र २८ गते भाइटीका रहेको छ । पहिलो दिन कागलाई विधिपूर्वक पुजा गरेपछि दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार अर्थत लक्ष्मीपुजा र चौथो दिन गोबद्र्धन वा गोरुपुजा गरिन्छ ।

त्यस्तै तिहारको अन्तिम दिन भाइतिहार अर्थात् भाइटीका मनाइन्छ । कार्तिक शुक्ल द्वितीया तिथिका दिन पर्ने यो पर्व विशेष उत्साहका साथ मनाउँदै दिदीबहिनी र दाजुभाइवीचको आत्मियता साटासाट गरिन्छ । यस दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई तथा भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान्न दिने दिदीबहिनीलाई दानदक्षिणा एवं वस्त्र दिने परम्परा रहेकोछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार