आज यमपञ्चकको चौथो दिन, गोवर्द्धन पूजा गरी तिहार मनाउदै

  गाैरीशंकर टाइम्स संवाददाता  109 पटक हेरिएको

काठमाडौं । आज यमपञ्चक अर्थात् तिहारको चौथो दिनमा गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलीको पूजाआजा गरी सम्मान प्रकट गर्ने गरिन्छ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलीको पूजाआजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ ।

द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन् ।

गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

बली, हली एवम् गोरु पूजा

भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरूप पूजा आराधना गरिन्छ ।

आजको दिनलाई वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन रहेको छ । त्यसकारण गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा चलेको हो ।

यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार वा अपभ्रंश भई हल तिहार पनि भनिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार