काठमाडौं । आजबाट मौलिक साँस्कृतिको नयाँ वर्ष अर्थात नेपाल संवत् ११४३ सुरु भएको छ । नेपालको मौलिक संवतको रूपमा लिइने यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।
राष्टिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ (इस्वी संवत ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरु गराएका थिए । सोही दिनका अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरि नयाँ वर्ष मनाउदै छन् ।
नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा। त्रिरत्न मानन्धरले बताए । उनका अनुसार ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो,’ । मानन्धर भन्छन्, ‘लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।’
त्यस्तै सरकारले नेपाल संवतलाई मौलिक नयाँ वर्षको रुपमा क्यालेण्डरमा समावेस गर्ने निर्णय गरेको छ ।
म्हः (आत्म) पूजा
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । उनले आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास रहेको समेत बताए ।
त्यसैगरी, नेपाल सरकारले नेवारी समुदायले मनाउने म्हः (आत्म) पूजालाई राष्ट्रिय साँस्कृतिक पर्व घोषणा गरेको छ । नेपालमा बसोबास गरिने सम्पूर्ण नेपालीको मौलिक र पराम्परागत साँस्कृतिलाई संरक्षण गर्न सरकारले राष्ट्रिय पर्व घोषणा गरेको हो ।